Dictionary

All Word

21001 गँडाहा वि. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
21002 गँडेउलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बस्र्यौलो।
21003 गँडेरो ना. १. हिलोमा बस्न रुचाउने सानो खालको माछो।
21004 गँडेरो ना. २. गण्डकी नदीमा पाइने सोही जातको तर ठुलो आकारको माछो; राइगँडेरो।
21005 गँडेला ना. दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो।
21006 गँडोहो वि. गाँड भएको; गँडाहा।
21007 गँड्याहा ना. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
21008 गँड्यौलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बस्र्यौलो।
21009 गँथाइ ना. गाँने भाव, क्रिया वा प्रक्रिया।
21010 गँधारा ना. मसिना खुट्टा हुने र अलि अलि उड्ने, विभिन्न रङ भएको, छोइदिँदा ठस्स गनाउने खालको, प्रायः धानमा लाग्ने रोगाणु जातको किरो; पतेरो।
21011 गँधे ना. सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झैँ कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे।
21012 गँवार वि. १. सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले।
21013 गँवार वि. २. शिष्टता नजानेको; असभ्य; मूर्ख।
21014 गँवैया वि. गाउँमा बस्ने; गाउँले; ग्रामीण।
21015 गँसाइ ना. गाँस्ने भाव, क्रिया वा प्रक्रिया।
21016 गँसाइनु क.क्रि. गाँस्न लाइनु।
21017 गँसाउनु प्रे.क्रि. गाँस्न लाउनु।
21018 गँसुवा वि. दुइटा जोडिएको; गाँसिएको।
21019 गँसोट ना. १. गाँसिएको स्थिति वा अवस्था; गाँस।
21020 गँसोट ना. २. गाँस्ने प्रक्रिया।
21021 गँसोट ना. ३. गाँसिएको ठाउँ।
21022 गइँनेनी ना. गाएर जीवन निर्वाह गर्ने जातकी आइमाई; गाइने जातकी स्त्री; गाइनेकी पत्नी।
21023 गइनु अ.क्रि. काम हुनु, जाइनु।
21024 गउँत ना. १. गाईको मूत, गोमूत्र।
21025 गउँत ना. २. चोखीनितीका निम्ति खाइने गाईको मु।
21026 गउँते वि. १. गउँतको जस्तै रङ भएको; गउँतका स्वादको।
21027 गउँते वि. २.सड्न थालेको।
21028 गउँत्याइ ना. गउँत्याउने काम वा किसिम।
21029 गउँत्याइनु क.क्रि. गाईबाछीद्वारा मूत्रत्याग गरिनु।
21030 गउँत्याउनु स.क्रि. गाईले गउँत दिनु, गाईले मुत्नु।
21031 गकार ना. देवनागरी वर्णमालाको तेस्रो व्यञ्जनवर्ण; 'ग' अक्षर।
21032 गगन ना. १. आकाश, नभ, अन्तरिक्ष।
21033 गगन ना. २. शून्य।
21034 गगनचर ना. १. आकाशमार्गबाट आवतजावत गर्ने देवता।
21035 गगनचर ना. २. ग्रह (तारा, नक्षत्र इ.)।
21036 गगनचर ना. ३. पक्षी।
21037 गगनचर ना. वि. ४. आकाशमा विचरण गर्ने; आकाशमार्गले हिँड्ने।
21038 गगनचारी वि. आकाशमा हिँड्ने; गगनचर।
21039 गगनचुम्बी वि. आकाशसम्म पुगे झैँ देखिने; अति अग्लो; आकाश छुने।
21040 गगनधूलि ना. १. आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो।
21041 गगनधूलि ना. २. केतकीको फूल फक्रिँदा परागको रूपमा उड्ने धुलो; केतकी पराग।
21042 गगनभेदी वि. आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)।
21043 गगनविहारी वि. गगनचारी (चन्द्र, सूर्य, पक्षी)।
21044 गगनसिंह ना. वि. सं. १९०३ मा रहस्यमय ढङ्गले हत्या गरिएका एक भारदार।
21045 गगनस्पर्शी वि. आकाशमा छुन पुग्ने; आकाश छुने; गगनचुम्बी।
21046 गगल ना. धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा।
21047 गग्रेटो ना. पानीका भरी गाग्रा राख्न बनाइएको ठाउँ; गाग्रो राख्ने आट वा टाँड।
21048 गङटो ना. हिँड्नका लागि आठवटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुईवटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।
21049 गङ्गा ना. १. हिमालय (गङ्गोत्री) - बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै गएर बगोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी।
21050 गङ्गा ना. २. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी।