Dictionary

All Word

6551 अष्टमी ना. शुक्लपक्ष वा कृष्णपक्षको आठौं तिथि; चन्द्रमामा आठ कलायुक्त हुने दिन वा तिथि ।
6552 अष्टमूर्ति ना. १. महादेव; शिव ।
6553 अष्टमूर्ति ना. २. महादेवका आठ मूर्ति (पृथ्वी, जल, तेज, वायु, आकाश, सूर्य, चन्द्र र यजमान) ।
6554 अष्टवर्ग ना. १. आठ औषधीहरूको समूह (जीवक, ऋषभक, मेदा, महामेदा, काकोली, क्षीरकाकोली, ऋद्धि र वृद्धि ) ।
6555 अष्टवर्ग ना. २. हिन्दू राज्यतन्त्रमा राज्यका आठ अङ्ग वा वर्ग (ऋषि, गाउँ वा नगर आदि बस्ती, दुर्ग, सेतु, हस्तिबन्धन, खानी, करग्रहण र सैन्यसंस्थापन)।
6556 अष्टवर्ग ना. ३. वर्णहरूको आठ वर्ग (अवर्ग, कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, वर्ग र शवर्ग) |
6557 अष्टसिद्धि ना. योगद्वारा प्राप्त गर्न सकिने आठ सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व) ।
6558 अष्टसुगन्ध धूप ना. श्रीखण्ड, रक्तचन्दन, सालधूप, कपूर, केशर, कस्तूरी, अगरु र गोकुलधूप राखेर बनाइएको विशेष प्रकारको धूप; देवदेवीका पूजामा सुगन्धका लागि बालिने उक्त धूप; हानिकारक वायुको असरबाट बच्न बालिने उक्त धूप ।
6559 अष्टाक्षर / अष्टाक्षरी वि. १. आठ अक्षर भएको (मन्त्र); अष्टाक्षरी |
6560 अष्टाक्षर / अष्टाक्षरी वि. ना. २. आठ अक्षर भएको दीक्षामन्त्र ( वैष्णवको 'ओं नमो नारायणाय' नामक मन्त्र र वल्लभ सम्प्रदायको 'श्रीकृष्णः शरणं मम भन्ने मन्त्र ) ।
6561 अष्टाङ्ग ना. १. योगसाधनका आठ भेद ( यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) ।
6562 अष्टाङ्ग ना. २. वैद्यक चिकित्साका आठ विभाग (शल्य, शालाक्य, कायचिकित्सा, भूतविद्या, कौमारभृत्य, अगदतन्त्र, रसायनतन्त्र र वाजीकरण) ।
6563 अष्टाङ्ग ना. ३. शरीरका आठ अङ्ग (जाँघ, पाउ, हात, छाती, शिर, दृष्टि, वचन र बुद्धि) ।
6564 अष्टाङ्ग ना. ४. सूर्यलाई चढाइने आठ अर्घ्य (जल, दुध, घिउ, मह, दही, रक्तचन्दन, करवीर ( कनेर र कुश ) ।
6565 अष्टाङ्गमार्ग ना. महात्मा बुद्धद्वारा प्रतिपादित आठ मार्ग (सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाक्, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि)।
6566 अष्टादश ना. अठार ।
6567 अष्टादश पुराण ना. अठार महापुराण (ब्रह्म, पद्म, विष्णु, शिव, भागवत (श्रीमद्भागवत वा देवीभागवत), नारद, मार्कण्डेय, अग्नि, भविष्य, ब्रह्मवैवर्त, लिङ्ग, वराह, स्कन्द, वामन, कूर्म, मत्स्य, गरुड र ब्रह्माण्ड ) |
6568 अष्टावक्र ना. १. अङ्ग बाङ्गोटिङ्गो भएका एक अद्वैतवादी ऋषि ।
6569 अष्टावक्र ना. २. हात, पाउ आदि अङ्ग धेरै ठाउँमा बाङ्गोटिङ्गो भएको व्यक्ति ।
6570 असंयत वि. १. संयम नभएको; नियममा नरहने ।
6571 असंयत वि. २. नबाँधिएको; फुक्का ।
6572 असंयम ना. संयमको अभाव; मन, इन्द्रिय आदि आफ्नो वशमा राख्न नसक्ने अवस्था ।
6573 असंयुक्त वि. १. संयुक्त नभएको; राम्ररी नगाँसिएको; नजोडिएको ।
6574 असंयोग ना. १. संयोगको अभाव ।
6575 असंयोग ना. २. मेल वा सम्बन्ध नभएको स्थिति ।
6576 असंलग्न वि. १. कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने ।
6577 असंलग्न वि. २. कुनै राष्ट्रका नीतिमा नलाग्ने वा त्यसको अनुसरण नगर्ने ।
6578 असंलग्नता ना. कुनै पक्षमा पनि सम्बन्ध नराख्ने काम; कुनै राष्ट्रको राजनीतिको अनुसरण नगर्ने नीति।
6579 असंलग्नता ना. विप. संलग्नता।
6580 असंवृत/असंवृत्त वि. १. नढाकिएको; नछोपिएको; अनावृत ।
6581 असंवृत/असंवृत्त वि. २. खुला भएको; संवृतको विपरीत |
6582 असंशय वि. मनमा संशय नभएको; असन्दिग्ध ।
6583 असंश्लिष्ट वि. नटाँसिएको; नजोडिएको; नमिलेको ।
6584 असंसदीय वि. १. संसद्को मर्यादाका विरुद्ध ।
6585 असंसदीय वि. २. संसदीय ढङ्गको नभएको।
6586 असंसर्ग ना. संसर्ग नभएको अवस्था; सम्बन्ध नहुने स्थिति ।
6587 असंस्कृत वि. १. संस्कार वा सुधार नभएको; अपरिमार्जित ।
6588 असंस्कृत वि. २. धर्मशास्त्रका अनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि ) नभएको; व्रात्य ।
6589 असंस्कृत वि. 3. असभ्य; अशिष्ट ।
6590 असंस्कृत वि. ४. व्याकरणको नियममा नमिलेको ।
6591 असंस्कृत वि. ना. ५. अशुद्ध शब्द; अपशब्द ।
6592 असंस्कृत वि. ६. संस्कृतभिन्न भाषा ।
6593 असक वि. १. अशक्त; निर्धो; कमजोर; दुर्बल |
6594 असक वि. २. अस्वस्थ; रोगी ।
6595 असक्त वि. १. विषयभोगमा आसक्त नभएको; विरक्त ।
6596 असक्त वि. २. फलको इच्छा नगर्ने; निष्काम ।
6597 असगुन ना. खराब वा नराम्रो मानिएको आरम्भिक लक्षण; अशुभ साइत; अमङ्गल; अपसगुन; अपशकुन ।
6598 असङ्क्रान्ति मास ना. सङ्क्रान्ति नपरेको महिना; मलमास; अधिकमास ।
6599 असङ्क्रामक ना. १. रोग सार्न नसक्ने जीवाणुविशेष ।
6600 असङ्क्रामक ना. वि. २. नसर्ने (रोग, कीटाणु इ.) ।