Dictionary

All Word

13501 कल्की ना. २. एक प्रकारको चरोविशेष।
13502 कल्की ना. ३. चराको टाउकाको सिउर।
13503 कल्की फूल ना. सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खस्रा पात र टुप्पामा सिउरका आकारको रातो फूल फुल्ने, भेट्नामा हरिया गेडा फल्ने एक जातको रुख वा त्यसैको फूल।
13504 कल्चौँडी वि. १. हेयार्थमा प्रयुक्त हुने, कालो जिउ र ठुलठुला स्तन भएकी; भालुथुने (स्त्री.)।
13505 कल्चौँडी वि. २. भद्दा जिउ भएकी र कालो वर्णकी (स्त्री)।
13506 कल्चौँडे ना. १. पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो। वि.
13507 कल्चौँडे ना. २. ठुलठुला कल्चौँडो भएकी; कालो जिउकी; कल्चौँडी।
13508 कल्चौँडो ना. १. स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो। वि.
13509 कल्चौँडो ना. २. केही कालो वर्णको; भद्दा जिउ भएको र कालो।
13510 कल्छे ना. १. प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो।
13511 कल्छे ना. २. एक जातको तरुल; कल्छे तरुल।
13512 कल्छे तरुल ना. प्याजी रङको लामो गिठा र गुलाफी रङको लामो कन्द हुने एक जातको तरुल।
13513 कल्छो ना. १. अनुहारको कालो पोतो; केही कालो वर्ण। वि.
13514 कल्छो ना. २. त्यस्तो रोगन वा वर्ण भएको।
13515 कल्पनु अ.क्रि. १. कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु।
13516 कल्पनु अ.क्रि. २. थक्कथक्क पर्नु; चुकचुकाउनु; पछुताउनु।
13517 कल्प १ ना. १. माङ्गलिक तथा शुभ कार्यका शास्त्रीय विधिविधान।
13518 कल्प १ ना. २. वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये बलिदान, यज्ञ आदिसित सम्बन्धित विधि बताउने एक अङ्ग।
13519 कल्प १ ना. ३. हिन्दू पञ्चाङ्गअनुसार चौध मन्वन्तर वा एक हजार महायुग अर्थात् चार अरब, बत्तिस करोड मानव वर्ष बताइएको कालका समयको साह्रै ठुलो विभाग।
13520 कल्प १ ना. ४. पुराणअनुसार ब्रह्माको एक दिन मानिने प्रत्येक कल्प (श्वेतवाराह, नीललोहित, वामदेव, रथन्तर, रौरव, प्राण, वृहत्कल्प, कन्दर्प, सत्य, ईशान, व्यान, सारस्वत, उदान, गारुड, कौर्म, नारसिंह, समान, आग्नेय, सोम, मानव, पुमान, वैकुण्ठ, लक्ष्मी, सावित्री, घोर, वाराह, वैराज, गौरी, माहेश्वर र पितृ)।
13521 कल्प १ ना. ५. आधुनिक पुराशास्त्र तथा भूशास्त्रका अनुसार कतिपय युगमा बाँडिएको र पृथ्वीको केही स्वतन्त्र विकासात्मक अवस्था हुने विशिष्ट कालविभाग (आदिकल्प, उत्तरकल्प, मध्यकल्प, नवकल्प इ.)।
13522 कल्प १ ना. ६. प्रलय।
13523 कल्प १ ना. ७. आयुर्वेद मतानुसार शरीरको कुनै अङ्गलाई पुनः नयाँ र स्वस्थ बनाउने युक्ति; वैद्यशास्त्रीय चिकित्सा विधान (केशकल्प, नेत्रकल्प, कायाकल्प इ.)।
13524 कल्प १ ना. ८. पूर्ण वा वास्तविक नभए पनि समान वा बराबरी हुने; समान; तुल्य (देवकल्प, ऋषिकल्प इ.)।
13525 कल्प २ ना. सानो, मिहीँ कल्पना। (उदा.- झिना कल्पहरू बोल्थे। - देवकोटा)।
13526 कल्पक वि. कल्पना गर्ने; रचना गर्ने।
13527 कल्पकल्पान्तर ना. १. युगौँयुगसम्मको अवधि; ज्यादै लामो समय।
13528 कल्पकल्पान्तर ना. २. बितेका वा आउने युगौँयुग; धेरै पहिलेदेखि धेरै पछिसम्मको समय।
13529 कल्पकार ना. वैदिक विधिविधानको वर्णन गर्ने तथा तत्सम्बन्धी शास्त्र बनाउने व्यक्ति; कल्पशास्त्र तथा गृह्य श्रौतसूत्रका रचयिता।
13530 कल्पक्षय ना. कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय।
13531 कल्पतरु / द्रुम ना. हे. कल्पवृक्ष।
13532 कल्पना ना. १. स्मृतिपटमा अनौठा नयाँ कुरा वा वस्तुको प्रतिमा तथा रूपरेखा बनाएर काव्य, चित्र, प्रतिमा आदिका रूपमा उतार्ने वा मूर्त रूप दिने क्रियात्मक मानसिक शक्ति।
13533 कल्पना ना. २. त्यसरी नदेखेको वा नसुनेको कुनै नयाँ र अनौठो कुरा मनले अजमाउने वा प्रस्तुत गर्ने काम।
13534 कल्पना ना. ३. अनुमान; अन्जाम; तर्कना।
13535 कल्पना ना. ४. सुन्दर रचना; कृति।
13536 कल्पना ना. ५. सजावट, सिँगारपटार।
13537 कल्पना ना. ६. मनगढन्त कुरो; मनचिन्ते बोली।
13538 कल्पना ना. ७. कुनै एउटा कुरालाई अर्को मानेर त्यसबाट भावसौन्दर्य प्राप्त गर्ने काव्यगत गुण।
13539 कल्पनातत्त्व ना. संवेदनशील कवि र कलाकारले आफ्ना कृतिका लागि निर्माण गर्ने आधारसामग्री; कल्पनाको आधारतत्त्व।
13540 कल्पनातीत वि. १. कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने।
13541 कल्पनातीत वि. २. जान्नबुझ्न वा सोचविचार पुऱ्याउन नसकिने; अज्ञेय।
13542 कल्पनाप्रधान वि. कल्पना बेसी भएको; कल्पनामा गाँसिएको; कल्पनैकल्पनाले सजिएको (काव्य, रचना इ.)।
13543 कल्पनाशक्ति ना. कल्पना गर्न सक्ने शक्ति; सोचविचार गर्ने क्षमता।
13544 कल्पनाश्रित वि. कल्पनामा आधारित; कल्पनामा अडेको।
13545 कल्पनीय वि. १. कल्पना गर्न सकिने; कल्पना गर्न उचित।
13546 कल्पनीय वि. २. विचार पुऱ्याउन सम्भव हुने।
13547 कल्पनीय वि. ३. मायालाग्दो; दयनीय।
13548 कल्पलता ना. १. स्पर्श वा छाया लाग्नासाथ मनको इच्छा पूर्ण हुन्छ भनी कल्पना गरिएको स्वर्गको एक लहरो।
13549 कल्पलता ना. २. हठयोगमा उन्मनी मुद्रा अर्थात् मनलाई परमात्मामा लगाउने अवस्था।
13550 कल्पवास ना. एक कल्पभरि तीर्थवास गरेको पुण्य कमाउनका लागि संयम र निष्ठापूर्वक माघ महिनाभर गङ्गा, यमुना आदि नदीका तटमा गरिने निवास।